२८ भदौ, काठमाडौं । तीज आउन महिनौँ अघिदेखि नै यसको रौनक सुरु हुन्छ । विशेषगरी महिलाहरू दर खाने, भेटघाट गर्ने र विभिन्न कार्यक्रम आयोजना गर्ने तयारीमा जुट्छन् । पछिल्ला वर्षमा घर–परिवारमा सीमित तीजका कार्यक्रम पार्टी प्यालेस, होटल र रेस्टुरेन्टसम्म विस्तार भएका छन् । तीजका नाममा हुने खर्च पनि त्यसैअनुसार बढ्दै गएको छ ।
तर, यस वर्षको तीजको माहोल केहीका लागि फरक छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि धेरै परिवार घरबारविहीन छन् । कतिपयले आफन्त गुमाएका छन् भने कतिपय अझै बेपत्ताको खोजीमा छन् । विस्थापितहरू आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका छन् ।
यही अवस्थामा केही महिलाले भने तीजको उत्सवमा गरिने खर्च कटाएर बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेका छन् । कसैले तीजकै कार्यक्रम स्थगित गरेर राहतका लागि रकम छुट्याए, कसैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरे । कसैले खाद्यान्न, कपडा, सरसफाइका सामग्री, बालबालिकाका सामानदेखि औषधिसम्म जुटाएर प्रभावित क्षेत्रमा पठाए ।
उनीहरूको भनाइमा यो तीज नमनाउने निर्णयभन्दा पनि आफ्नो खुसीको केही हिस्सा दुःखमा परेका मानिससँग बाँड्ने प्रयास हो ।

