काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे सुरु हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ। प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले हालसम्म ६ खेल खेल्दा ४ जित, १ हार र १ खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ।

लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो। काठमाडौं गोर्खाजसँग भने पराजित भएको थियो। चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएको थियो।

यता, अंक तालिकाको पाँचौं स्थानमा रहेको विराटनगर किंग्सका लागि पनि आजको खेल उत्तिकै महत्वपूर्ण छ। प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन विराटनगरलाई जित आवश्यक छ।

विराटनगरले ६ खेलमध्ये ३ मा जित र ३ मा हार बेहोरेको छ। उसले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो भने काठमाडौं गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर