बारा । सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज शनिबार देशभर श्रद्धा, भक्ति र उल्लासका साथ खरना मनाइँदैछ।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वअन्तर्गत खरनालाई महत्वपूर्ण धार्मिक अनुष्ठानका रूपमा लिइन्छ। यस दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ स्नान गरी भगवान् सूर्य र छठी माताको पूजा आराधना गर्छन्। त्यसपछि शुद्धतापूर्वक तयार पारिएको खीर, रोटी तथा अन्य प्रसाद ग्रहण गरेर खरना विधि सम्पन्न गर्ने परम्परा छ।

खरना सम्पन्न गरेपछि व्रतालुहरू छठको मुख्य पूजासम्म निर्जला व्रत बस्ने गर्छन्। धार्मिक मान्यताअनुसार सूर्यदेव र छठी माताको आराधना गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायु प्राप्त हुने विश्वास गरिन्छ। यही विश्वासका साथ महिला तथा पुरुष दुवैले श्रद्धापूर्वक छठ व्रत गर्ने गरेका छन्।

विशेषगरी मधेश प्रदेशमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा पनि व्यापक रूपमा फैलिएको छ। रोजगारी, बसाइँसराइ र सांस्कृतिक आदानप्रदानका कारण विभिन्न समुदायले समेत यस पर्वलाई आत्मसात् गर्दै आएका छन्।

छठ पर्व धार्मिक आस्थासँगै सामाजिक तथा सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि परिचित छ। यसले स्वच्छता, शुद्धता, अनुशासन, प्रकृतिप्रतिको सम्मान र सामूहिक सद्भावको सन्देश दिने गर्छ। जातजाति, भाषा र समुदायबीचको भिन्नतालाई बिर्सेर एउटै घाटमा भेला भई पूजा आराधना गर्नु यस पर्वको विशेषता हो।

खरनासँगै छठ पूजाका लागि पोखरी, नदी, तलाउ तथा जलाशयका किनारमा घाट सजाउने, सरसफाइ गर्ने र पूजाका सामग्री व्यवस्थापन गर्ने काम पनि तीव्र रूपमा भइरहेको छ।

छठ पर्वको तेस्रो दिन भोलि आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। त्यसैगरी चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ व्रत विधिवत् सम्पन्न हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर