बारा । नेपाली कम्युनिष्ट पार्टीका नेता कुन्दन फौजदारले बारागढी गाउँपालिकाको सहइन्चार्ज पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आजैदेखि लागू हुने गरी उक्त पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
फौजदारले बारा जिल्लाभित्र पार्टीका केही नेताहरू ब्राह्मणवादी चिन्तनबाट ग्रसित रहेको आरोप लगाउँदै आफूलाई राजनीतिक रूपमा निष्क्रिय बनाउने उद्देश्यले बारागढी गाउँपालिकाको सहइन्चार्जको जिम्मेवारी दिइएको दाबी गरेका छन्।
आफ्नो राजनीतिक निरन्तरतामा पूर्णविराम लगाउने नियतले उक्त जिम्मेवारी दिइएको उनको आरोप छ। सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै उनले पार्टीभित्रको यस्तो प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।
यद्यपि, सहइन्चार्ज पदबाट राजीनामा दिए पनि पार्टी परित्याग नगर्ने उनले स्पष्ट पारेका छन्। पार्टीका गतिविधि तथा कार्यक्रमहरूमा निरन्तर सहभागी हुँदै संगठनको काममा सक्रिय रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।
पार्टी स्थापनाकालदेखि नै आबद्ध रहँदै आएका फौजदारले आफ्नो राजीनामा घोषणाको अन्त्यमा ‘लालसलाम’ भन्दै पार्टीप्रतिको प्रतिबद्धता दोहोर्याएका छन्।





