बारा । सूर्य उपासनाको महापर्व छठ आज (शुक्रबार) देखि विधिवत् रूपमा सुरु भएको छ। पर्वको पहिलो दिन आज व्रतालुहरूले पवित्र स्नान गरी शुद्ध भोजन ग्रहण गर्दै ‘नहाय–खाय’ विधि मनाइरहेका छन्।
चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले बिहानै नदी, पोखरी, तलाउ तथा अन्य जलाशयमा स्नान गरी आफू र पूजाका सामग्री शुद्ध बनाउने गर्छन्। त्यसपछि शुद्ध तथा सात्त्विक भोजन ग्रहण गरेर पर्वको सुरुवात गरिन्छ।
छठ पर्वमा भगवान् सूर्य र छठी माताको पूजा आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार सूर्यलाई जीवन, ऊर्जा, स्वास्थ्य र समृद्धिको स्रोत मानिन्छ। सूर्यको उपासना गर्दा परिवारमा सुख, शान्ति, आरोग्य, सन्तानको दीर्घायु तथा समृद्धि प्राप्त हुने विश्वास रहिआएको छ।
नहाय–खायपछि पर्वको दोस्रो दिन शनिबार ‘खरना’ मनाइनेछ। यस दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ पूजा गरेपछि प्रसाद ग्रहण गर्नेछन्। खरनापछि व्रतालुहरूको निर्जला व्रत सुरु हुनेछ।
पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ।
विशेषगरी तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा देशका अन्य क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ। धार्मिक आस्थासँगै सामाजिक सद्भाव, पारिवारिक एकता, स्वच्छता र प्रकृतिप्रतिको सम्मानको सन्देश दिने भएकाले यस पर्वको विशेष महत्त्व रहेको छ।





