वीरगन्ज । पर्सामा हुण्डी कारोबारसँग सम्बन्धित रकम फेला परेको आशंकामा एक प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ ।
पर्यटक प्रहरी कार्यालय वीरगन्जमा काजमा कार्यरत प्रहरी जवान सन्दीपकुमार साहलाई मंगलबार राति जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार साह कार्यरत कार्यालयबाट हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने नगद रकम फेला परेको थियो । उक्त रकम अवैध आर्थिक कारोबारसँग जोडिएको आशंकामा साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । यद्यपि, बरामद भएको भनिएको रकमको परिमाण भने सार्वजनिक गरिएको छैन ।
यस विषयमा पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले भने साहलाई नियमित रूपमा माथिल्लो निकायमा कामकारबाहीको विवरण तथा रिपोर्टिङ नगरेको विषयमा सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।
एसपी भट्टराईका अनुसार नियमित रिपोर्टिङ नगरेको विषयमा आवश्यक सोधपुछ भइरहेको छ । तर, प्रहरी स्रोतले भने प्रहरी जवान साहको हुण्डी कारोबारसँग सम्भावित सम्बन्धबारे समेत अनुसन्धान भइरहेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेकाले प्रहरी जवान साह हुण्डी कारोबारमा संलग्न रहेको वा नरहेको विषयमा अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।





