काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह ३१औँ भारतीय उद्योग परिसंघ (सीआईआई) साझेदारी सम्मेलनमा सहभागी हुन बुधबार भारतको नयाँदिल्ली पुगेका छन्।
आन्ध्र प्रदेशको विशाखापट्टनममा कात्तिक २६ र २७ गते आयोजना हुने सम्मेलनमा सहभागी हुन मन्त्री साह भारत पुगेका हुन्। नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री साहलाई स्वागत गरेका थिए।
भारत भ्रमणका क्रममा मन्त्री साहले नेपाली दूतावासका अधिकारीहरूसँग छलफल गर्दै नेपालको निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षित गर्ने तथा पर्यटन क्षेत्रको विकासका लागि आर्थिक कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
सम्मेलनमा मन्त्री साहले व्यापारमन्त्रीहरूको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा विभिन्न देशका सरकारी प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहनेछ। उनीहरूबीच अन्तर्राष्ट्रिय व्यापार, लगानी प्रवर्द्धन र आर्थिक साझेदारीका विषयमा छलफल हुनेछ।
भ्रमणका क्रममा मन्त्री साहले भारतका विशिष्ट व्यक्तित्व तथा अन्य सहभागी देशका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। भेटवार्तामा नेपाल र भारतबीचको व्यापार सहजीकरण, लगानी विस्तार तथा आर्थिक सहकार्यका नयाँ सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ।
नेपालले निर्यात बजार विस्तार तथा विविधीकरण, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने प्रयास गरिरहेका बेला मन्त्री साहको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानीको प्रमुख स्रोत भएकाले यस सम्मेलनले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। मन्त्री साह शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।





