वि. के. चौधरी
कलैया । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले शुक्रबार कलैया प्रादेशिक अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । प्रादेशिक अस्पताल कलैयामा लापरबाही भइरहेको गुनासो बढेपछि शुक्रबार छड्के अनुगमन गरेको हो । सरकारी स्वास्थ्य संस्थाबाट नागरिकले प्राप्त गर्ने स्वास्थ्य सेवालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले उहाँले अस्पतालको समग्र अवस्था तथा सेवा प्रवाहबारे जानकारी लिनुभएको हो।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले अस्पतालमा स्वीकृत कर्मचारी दरबन्दी र पदपूर्तिको अवस्था, कार्यरत कर्मचारीको नियमित उपस्थिति, हाजिरी अभिलेख तथा ड्युटी तालिकाको निरीक्षण गर्नुभएको थियो। कर्मचारीहरू तोकिएको समय र जिम्मेवारीअनुसार कार्यस्थलमा उपस्थित भए–नभएको विषयमा समेत उहाँले चासो व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, अस्पतालको सरसफाइ तथा व्यवस्थापन, ओपीडी सेवा सञ्चालनको अवस्था, बिरामीले प्राप्त गरिरहेको सेवा र अस्पतालमा उपलब्ध भौतिक पूर्वाधार तथा स्वास्थ्य उपकरणहरूको प्रयोगबारे पनि निरीक्षण गरिएको थियो।
निरीक्षणका क्रममा अस्पतालमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवाग्राहीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने विषयमा जोड दिइएको थियो। साथै, कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्ने, हाजिरी तथा ड्युटी तालिकालाई व्यवस्थित बनाउने, अस्पताल परिसरमा सरसफाइ कायम राख्ने र ओपीडी सेवासहित अन्य स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने विषयमा सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिइएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले सरकारी अस्पताल नागरिकको स्वास्थ्य उपचारको महत्वपूर्ण आधार भएकाले सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरबाही हुन नहुने सन्देश दिनुभएको छ। अस्पतालमा उपलब्ध जनशक्ति, उपकरण र अन्य स्रोतसाधनको उचित व्यवस्थापन गरी नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियोे । साथै जेनजी कलैयाका संयोजक सौरभ पाण्डेयको विषेश उपस्थिति रहेको थियो ।





