काठमाडौं, १९ कात्तिक। नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ। बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दुई दिन सिक्का बिक्री गरिनेछ।

राष्ट्र बैंकका अनुसार यस वर्ष २.५ ग्राम तौलको सुनको असर्फी तथा १० ग्रामका चाँदीका सिक्का बिक्री गरिनेछ। चाँदीका सिक्कामा लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप रहनेछ।

राष्ट्र बैंकले यस वर्ष वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी उत्पादन गरेको जनाएको छ।

एक व्यक्तिले एउटा सुनको असर्फी र बढीमा तीनवटासम्म चाँदीका सिक्का खरिद गर्न पाउनेछन्। सिक्काको मूल्य बिक्री हुने दिनको सुन तथा चाँदीको बजार मूल्यका आधारमा निर्धारण हुनेछ। उत्पादन लागतसमेत जोडिने भएकाले बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ।

सिक्का खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

राष्ट्र बैंकले तिहारमा सुनचाँदीका सिक्का खरिद गरी लक्ष्मीका रूपमा पूजा गर्ने धार्मिक परम्परालाई लक्षित गर्दै हरेक वर्ष यस्तो बिक्री गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर