रौतहट । रौतहटमा तीनवटा खुट्टा भएकी नवजात बालिकाको जन्म भएपछि स्थानीय क्षेत्रमा चासो बढेको छ। राजपुर नगरपालिका–स्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान असामान्य शारीरिक बनावट भएकी बालिकाको जन्म भएको हो।
गुजरा नगरपालिका–८ कनकपुर निवासी २८ वर्षीया नुसिदा खातुनले सोमबार बिहान करिब ५ बजे सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएकी हुन्। स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी रामेश्वर मिश्रका अनुसार नवजात शिशुको तौल तीन किलोग्राम रहेको छ। जन्मलगत्तै गरिएको प्रारम्भिक परीक्षणमा बालिकाको अवस्था सामान्य पाइएको थियो।
बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रेपट्टि अर्को अतिरिक्त खुट्टा पनि जोडिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। अतिरिक्त खुट्टा केही पातलो भए पनि त्यसमा नङसमेत रहेको जनाइएको छ।
स्वास्थ्यकर्मी आजाद हुसैनका अनुसार बालिकाको अवस्थालाई ध्यानमा राख्दै थप परीक्षण र उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजान सुझाव दिइएको थियो। तर, परिवारका सदस्यहरूले आपसी सल्लाहपछि बालिकालाई स्वास्थ्य केन्द्रबाट घर लगेका छन्।
घटनाबारे जानकारी पाएपछि राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजीक आलमले प्रसूति सेवामा खटिएका स्वास्थ्यकर्मीहरूको तत्परता र जिम्मेवारीको प्रशंसा गरेका छन्। उनले नवजात बालिकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
बालिकाको शरीरमा अतिरिक्त खुट्टा जोडिनुको कारण र त्यसको उपचार सम्भावनाबारे भने विशेषज्ञ चिकित्सकबाट थप परीक्षण भएपछि मात्रै यकिन हुने बताइएको छ।





