वीरगञ्ज । मधेश प्रदेशका बारा, पर्सा, रौतहटसहित विभिन्न जिल्लामा सोमबार बिहानैदेखि बाक्लो हुस्सु र चिसो सिरेटो चलेपछि जनजीवन प्रभावित भएको छ।
बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण सडक, खेतबारी तथा आसपासका क्षेत्र धमिलिएका छन्। सडकमा दृश्यता कम हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ भने सर्वसाधारणको दैनिक कामकाजसमेत प्रभावित बनेको छ।
विशेषगरी तराई–मधेशका जिल्लामा बिहानको समयमा अगाडि रहेका सवारीसाधनसमेत स्पष्ट देख्न कठिन भएको छ। यसले लामो दूरीका सवारीसाधन, मोटरसाइकल चालक तथा पैदलयात्रुको आवागमनमा समस्या सिर्जना गरेको छ।
हुस्सुसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत असहज भएको छ। मौसमले पुस–माघ महिनाको झल्को दिएको स्थानीयवासीको भनाइ छ।
चिसोको प्रभाव दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक, किसान, विद्यार्थी तथा बिहानै आवतजावत गर्नुपर्ने सर्वसाधारणमा बढी परेको छ। विशेषगरी बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउन आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।





