सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–५, गंगाजलीमा आयोजित दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव आइतबार सम्पन्न भएको छ। महोत्सवमा आदिवासी जनजातिका भाषा, साहित्य, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ।

सप्तकोशी नगरपालिका वडा नं. ५ को आयोजनामा भएको महोत्सवको उद्घाटन मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सबै जातजाति तथा समुदायका भाषा र संस्कृतिलाई समान सम्मान दिनुपर्ने बताउनुभयो। उहाँले महोत्सवलाई आदिवासी जनजातिको ऐतिहासिक सम्मेलनका रूपमा समेत व्याख्या गर्नुभयो।

महोत्सवका विभिन्न सत्रमा सहभागी वक्ताहरूले लोपोन्मुख अवस्थामा पुगेका आदिवासी जनजातिका भाषा, साहित्य, कला र सांस्कृतिक परम्पराको संरक्षणमा राज्य तथा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने धारणा राखे। यस्ता महोत्सवले समुदायको इतिहास, मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।

मधेश प्रदेश सरकारका निवर्तमान गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको विशेष पहल र सक्रिय सहयोगमा महोत्सव आयोजना गरिएको जनाइएको छ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य राजेन्द्र चौधरी, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, थारू आयोगका अध्यक्ष सुबोध सिंह, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव विमल सारु मगर, सिप्रेड संस्थाका प्राध्यापक पासाङ डोल्पा शेर्पालगायतको सहभागिता थियो।

त्यस्तै, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्राध्यापक महेश चौधरी, नेवा समाजका दक्षनारायण श्रेष्ठ, आदिवासी जनजाति अगुवा बृजमान तामाङसहित विभिन्न समुदायका प्रतिनिधि तथा अगुवाहरूको उपस्थिति रहेको थियो।

सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। महोत्सवका विभिन्न सत्रको सञ्चालन बृजमान तामाङ, कमलकुमार चौधरी र सरिता चौधरीले गर्नुभएको थियो।

सप्तकोशी नगरपालिका–५ का वडाध्यक्ष गोसाई चौधरीको अध्यक्षतामा सम्पन्न महोत्सवमा थारू, तामाङ, नेवार, मगरलगायत विभिन्न आदिवासी जनजातिका मौलिक गीत, नृत्य तथा साहित्यिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो।

महोत्सवले विभिन्न समुदायबीच सांस्कृतिक अन्तरसम्बन्ध, आपसी सद्भाव र सम्मान अभिवृद्धि गर्नुका साथै आदिवासी जनजातिका भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर