बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली प्रहारको घटनाबारे मधेस प्रदेश प्रहरीले छानबिन सुरु गरेको छ। घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गर्दै घटनास्थलको सुरक्षा कमान्ड सम्हालेका प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा गठित समितिमा प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन्। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

समितिले झडपका क्रममा गोली चल्नुको कारण, प्रहरीको भूमिका तथा सुरक्षा व्यवस्थापनबारे अनुसन्धान गर्नेछ। एसएसपी ढकालले छानबिन प्रक्रिया तत्काल सुरु गरिने बताएका छन्।

शनिबार फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा निर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप भएको थियो। घटनाका क्रममा प्रहरीको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए भने प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका थिए।

झडपका क्रममा १० वटा मोटरसाइकलमा आगजनी हुनुका साथै अस्पतालको शिलालेखसमेत तोडफोड गरिएको थियो।

घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई पनि जिम्मेवारीबाट हटाइएको छ। घटनाको सुरक्षा कमान्ड उनैले सम्हालेका थिए।

गोली प्रहार, प्रहरी घाइते तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिलाई लिएर सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला प्रदेश प्रहरीले छानबिन अघि बढाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर