वि . के . चौधरी
बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर स्थानीयवासी र गाउँपालिका अध्यक्ष पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएको छ।
गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आवश्यक तयारी पूरा नभए पनि अस्पताल उद्घाटन गर्ने अडान लिएपछि विवाद चर्किएको हो। स्थानीयवासीले आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र पूर्वाधारको व्यवस्था गरेर मात्रै अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै आएका थिए।
अध्यक्ष अन्सारी आफ्ना समर्थकसहित उद्घाटनस्थल पुगेपछि दुवै पक्षबीच तनाव बढेको स्थानीयको भनाइ छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुका साथै हवाई फायर गरेको बताइएको छ।
झडपका क्रममा प्रहरीको गोली लागेर मञ्च व्यवस्थापनमा खटिएका करिब १३/१४ वर्षीय अजित पासवान घाइते भएका छन्। उनको पेटमा गोली लागेको र उपचारका लागि वीरगञ्ज लगिएको स्थानीय पत्रकार राजु चौरसियाले जानकारी दिएका छन्।
घटनापछि आक्रोशित स्थानीय युवाहरूले एक दर्जनभन्दा बढी मोटरसाइकलमा आगजनी गरेको बताइएको छ। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ।
स्थानीय प्रशासनले जोखिमलाई मध्यनजर गर्दै उद्घाटन कार्यक्रम रोक्न आग्रह गरे पनि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अडान नछाडेको स्थानीयको आरोप छ।
अस्पताल उद्घाटनको विषयमा सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि एक बालक गोली लागेर घाइते भएका छन्। घटनाबारे प्रहरी तथा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ।





