बारा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बारा जिल्लाका छ खेलाडीले चार फरक टोलीबाट प्रतिस्पर्धा गर्ने भएका छन्। कलैया, सिम्रौनगढ र पचरौतासँग सम्बन्धित यी खेलाडीले जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स र लुम्बिनी लायन्सबाट खेल्दै जिल्लाको क्रिकेट पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा थप उजागर गर्ने अवसर पाएका छन्।
यसपटक जनकपुर बोल्ट्सबाट अनिल साह र तृथराज दास, काठमाडौं गोर्खाजबाट आदिल आलम र साहिल पटेल, कर्णाली याक्सबाट पवन सर्राफ तथा लुम्बिनी लायन्सबाट अरनिको यादव मैदानमा उत्रिनेछन्। उनीहरूमध्ये केहीले अघिल्ला संस्करणकै टोलीबाट निरन्तरता पाएका छन् भने केहीले नयाँ टोलीमा आफ्नो क्षमता प्रमाणित गर्ने मौका पाएका छन्।
जनकपुर बोल्ट्समा अनिल साह र तृथराज दास
कलैयाका अनिल साह र तृथराज दास यसपटक जनकपुर बोल्ट्सबाट खेल्नेछन्। विकेटकिपर तथा ब्याट्सम्यान अनिल पहिलो संस्करणदेखि नै जनकपुरसँग आबद्ध छन्। विकेटकिपिङसँगै ब्याटिङमा योगदान दिन सक्ने उनको क्षमताले टोलीलाई मजबुत बनाउन सक्छ।
त्यस्तै, तृथराज दासले पहिलो दुई संस्करण पोखरा एभेन्जर्सबाट खेलेका थिए। तेस्रो संस्करणमा जनकपुर बोल्ट्समा आबद्ध भएका उनले नयाँ टोलीबाट आफ्नो ब्याटिङ क्षमता देखाउने अवसर पाएका छन्। उनको प्रदर्शन जनकपुरको ब्याटिङ क्रमका लागि महत्त्वपूर्ण हुन सक्छ।
काठमाडौं गोर्खाजमा आदिल आलम र साहिल पटेल
सिम्रौनगढका आदिल आलम र कलैयाका साहिल पटेल काठमाडौं गोर्खाजबाट प्रतिस्पर्धा गर्नेछन्। अलराउण्डर आदिल दोस्रो संस्करणदेखि काठमाडौंको टोलीमा छन्। ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने उनको क्षमताले टोलीको सन्तुलन कायम राख्न सहयोग पुग्न सक्छ।
विकेटकिपर तथा ब्याट्सम्यान साहिल पटेल भने नयाँ टोलीबाट खेल्दैछन्। पहिलो दुई संस्करण विराटनगर किंग्सबाट खेलेका साहिल तेस्रो संस्करणमा काठमाडौं गोर्खाजमा आबद्ध भएका हुन्। विकेटकिपिङ र ब्याटिङ दुवै जिम्मेवारी सम्हाल्न सक्ने साहिलका लागि नयाँ टोलीमा आफूलाई प्रमाणित गर्ने अवसर हुनेछ।
कर्णाली याक्समा पवन सर्राफ
कलैयाका अलराउण्डर पवन सर्राफले कर्णाली याक्सबाट निरन्तरता पाएका छन्। दोस्रो संस्करणदेखि कर्णालीमा आबद्ध पवनले ब्याटिङ र बलिङ दुवै विभागमा योगदान दिन सक्छन्। टोलीसँगको अनुभव र तालमेललाई उपयोग गर्दै उनले आफ्नो भूमिका प्रभावकारी बनाउन सके कर्णालीको प्रदर्शनमा सकारात्मक प्रभाव पर्न सक्छ।
लुम्बिनी लायन्सबाट अरनिको यादवको पुनरागमन
पचरौताका बायाँहाते ब्याट्सम्यान तथा अलराउण्डर अरनिको यादव यसपटक लुम्बिनी लायन्सबाट खेल्नेछन्। पहिलो संस्करणमा उपाधि विजेता जनकपुर बोल्ट्सको हिस्सा रहेका अरनिको दोस्रो संस्करणमा भने कुनै टोलीमा छनोट हुन सकेका थिएनन्।
तेस्रो संस्करणमा लुम्बिनीबाट खेल्ने अवसर पाएका अरनिकोका लागि यो आफ्नो प्रतिभा प्रमाणित गर्ने महत्त्वपूर्ण मौका हो। बायाँहाते ब्याटिङसँगै अलराउण्ड क्षमताले उनलाई टोलीका लागि उपयोगी खेलाडी बनाउन सक्छ।





