हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीले आइतबार दिउँसो करिब ३:१५ बजे भारतको रक्सोलबाट काठमाडौं आउँदै गरेको बा २ च ७०७९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त धातु बरामद गरेको हो ।

प्रहरी चौकी रातोमाटेका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको नेतृत्वमा खटिएको टोलीले कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाएर लुकाइएको अवस्थामा धातु फेला पारेको जनाएको छ ।

पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय चालक रमेशकुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दादेवी सोनार, १७ वर्षीय छोरा र करिब २० वर्षीया भान्जी नन्दनीकुमारी साह रहेका छन् ।

प्रहरीले बरामद धातु र कारसहित चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ । बरामद सेतो धातु वास्तविक चाँदी हो वा अन्य कुनै धातु भन्ने पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर