बारा, कात्तिक ८ । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा विषालु कोब्रा सर्पले डस्दा चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको पकडिया निवासी गजेन्द्र प्रसाद पालका छोरा आदित्य प्रसाद पाल रहेका छन् ।

प्रहरीका अनुसार आदित्य करिब एक महिनादेखि आमासँगै मामा घर इटियाहीमा बस्दै आएका थिए । आइतबार साँझ करिब ५ः३० बजे मामा घरअगाडि खेलिरहेका बेला उनलाई कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो ।

सर्पदंशबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले परीक्षण गर्दा साँझ करिब ६ बजे उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए ।

घटनाबारे साँझ ६ः२७ बजे जानकारी प्राप्त भएपछि प्रहरी चौकी मुसहर्वाबाट प्रहरी नायब निरीक्षक मनोज साह सोनारको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीका अनुसार बालकका मामा जितेन्द्र कुमार पालले साँझ ७ः४० बजे नारायणी अस्पतालबाट शव घरमा ल्याएर राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर