वि. के . चौधरी
वीरगन्ज । सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थान तथा सीमा क्षेत्रबाट ४४ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। प्रहरीले तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याइएका करिब ३ लाख रुपैयाँ मूल्यका प्रतिबन्धित पटाकासमेत नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका अनुसार जिल्लाका विभिन्न स्थानीय तह तथा सीमा क्षेत्रमा खटिएका टोलीले भन्सार छली गरी ल्याइएका कपडा, कस्मेटिक सामग्री, किराना सामान, मोबाइल पार्टपुर्जा, औषधि, मोटर पार्टसलगायतका सामग्री बरामद गरेका हुन्।
प्रहरीका अनुसार विभिन्न सवारीसाधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरिएको ७ लाख १० हजार पाँच सय २० रुपैयाँ बराबरको कपडा, कस्मेटिक तथा किराना सामान बरामद गरिएको छ।
यसैगरी, बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको टोलीले शुक्रबार बा ६३ प ६८१५ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरिएको १८ लाख ४१ हजार पाँच सय रुपैयाँ बराबरको मोबाइल पार्टपुर्जा बरामद गरेको थियो। सोही बीओपीको अर्को टोलीले ५९ हजार ४० रुपैयाँ बराबरका कपडा तथा मोटर पार्टस्समेत नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका–२५ खल्वास्थित बीओपी ड्राईपोर्टबाट खटिएको पैदल गस्ती टोलीले शनिबार सीमा क्षेत्रको धानखेतमा बेवारिसे अवस्थामा राखिएका ८ लाख १७ हजार छ सय ८० रुपैयाँ बराबरका औषधि तथा अन्य सामग्री फेला पारेको थियो।
त्यस्तै, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले विभिन्न मितिमा ३ लाख ५ हजार छ सय २० रुपैयाँ बराबरका खरबुजाका बीउ, तोरी तथा कपडा बरामद गरेको छ। सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले १ लाख ८४ हजार रुपैयाँ बराबरका कपडा तथा विद्युतीय सामग्री र बीओपी सिर्सियाबाट खटिएको टोलीले २ लाख १६ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए।
सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रण गर्ने क्रममा प्रहरीले पछिल्लो समय निगरानी बढाएको जनाएको छ।





