काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । मौसमविद्हरूका अनुसार तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलको प्रारम्भिक मौसम विश्लेषणअनुसार कात्तिक १२ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्छ । केही क्षेत्रमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना पनि औंल्याइएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी पर्ने अनुमान छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने तुलनात्मक रूपमा कम प्रभाव पर्ने सम्भावना छ । प्रारम्भिक जोखिम नक्साअनुसार २९ जिल्लामा वर्षाको जोखिम बढी हुन सक्ने देखिएको छ । यद्यपि, मौसमी प्रणालीको दिशा र तीव्रताअनुसार यो पूर्वानुमान परिवर्तन हुन सक्छ ।
तीन मौसमी प्रणालीको प्रभाव
मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली, दक्षिण भारतमा सक्रिय उत्तरपूर्वी मनसुन तथा न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले नेपालमा वर्षाको सम्भावना बढाएको हो । यी प्रणालीको संयुक्त प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा गराउन सक्ने अनुमान गरिएको छ ।
मनाङसहित हिमाली जिल्लामा भारी वर्षा तथा हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् । तराईका क्षेत्रमा डुबान तथा बाढी र पहाडी भूभागमा पहिरोको जोखिम हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
यात्रा र धान काट्ने काम स्थगित गर्न सुझाव
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले वर्षाको सम्भावनालाई ध्यानमा राख्दै शुक्रबार र शनिबार लामो दूरीको यात्रा नगर्न तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान सुझाव दिएका छन् ।
उनले बिहीबारदेखि शनिबारसम्म धान काट्ने योजना बनाएकाहरूलाई पनि मौसमको अवस्था हेरेर काम स्थगित गर्न आग्रह गरेका छन् । मौसमविद् उज्ज्वल उपाध्यायले समेत कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा, बाली काट्ने तथा भित्र्याउने काम र पदयात्रा नगर्न सुझाव दिएका छन् ।
विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा थप सावधानी अपनाउनुपर्ने मौसमविद्हरूको भनाइ छ । मौसम पूर्वानुमान प्रारम्भिक अवस्थामा रहेकाले आधिकारिक मौसम बुलेटिन र स्थानीय प्रशासनको सूचनालाई ध्यान दिन आवश्यक छ ।





