काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई आकर्षक र व्यवस्थित बनाइएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको छ।
प्रतियोगितालाई थप भव्य बनाउन मुख्य पिचको स्तरोन्नति, आउटफिल्ड व्यवस्थापन, प्यारापिट विस्तार, भीआईपी बक्स, फ्लडलाइट तथा डिजिटल टिकटिङको व्यवस्था गरिएको छ। खेलाडीका ड्रेसिङ रुम, डगआउट र प्रेस बक्सलाई समेत व्यवस्थित बनाइएको छ।
यस संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यतासँगै प्रतियोगिताको आकर्षण थप बढेको छ। फ्रेन्चाइज टोलीले बढीमा आठ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था गरिएको छ भने खेललाई थप निष्पक्ष बनाउन डीआरएस प्रविधिसमेत प्रयोग गरिनेछ।
डीआरएसको प्रयोगले अम्पायरका निर्णय पुनरावलोकन गर्न सहज हुने र खेलको निष्पक्षतामा विश्वास बढ्ने अपेक्षा गरिएको छ। यसले खेलाडी तथा दर्शक दुवैका लागि प्रतियोगितालाई थप रोमाञ्चक बनाउने विश्वास आयोजकको छ।
एनपीएलका अघिल्ला दुई संस्करणको सफलतासँगै प्रतियोगिताप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। प्यारापिटमा सिट थपिए पनि दर्शकको चाप व्यवस्थापन गर्नु आयोजकका लागि चुनौती बन्न सक्ने देखिएको छ।
मैदानको तयारी अन्तिम चरणमा पुगेसँगै कीर्तिपुरमा क्रिकेटको माहोल तात्न थालेको छ। खेलाडीको प्रदर्शन र दर्शकको उत्साहले यस पटकको एनपीएल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।





