कोल्हवी । बाराको कोल्हवी नगरपालिका–१ बभनी निवासी युवा व्यवसायी तथा समाजसेवी मन्दु चौधरीले शुभ दिपावली तथा छठ पर्वको अवसरमा गाउँलाई झिलिमिली बनाउन विद्युतीय सामग्री सहयोग गर्नुभएको छ ।
चौधरीले आफ्नै खर्चमा खरिद गर्नुभएका झालर बत्ती, बल्ब लगायतका सामग्री एक कार्यक्रमबीच क्लबका उपाध्यक्ष लभु पनुहरलाई हस्तान्तरण गर्नुभएको हो।
शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै छठीघाटसम्मको सडक उज्यालो बनाउने उद्देश्यले उहाँले १०० थान झालर बत्ती, ८० थान बल्ब, तीन क्वायल तार, ७५ थान बल्ब होल्डर र दुई थान एमसीबी सहयोग गर्नुभएको छ।
हरेक वर्ष गाउँलाई उज्यालो बनाउने उद्देश्यले क्लबलाई विद्युतीय सामग्री सहयोग गर्दै आउनुभएका चौधरीले चाडपर्वमा गाउँको सौन्दर्य बढाउनुका साथै स्थानीयवासीलाई सहज र सुरक्षित वातावरणमा पर्व मनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यस वर्ष पनि सहयोगलाई निरन्तरता दिनुभएको हो।





